AFC/FIFA एएफसी यु–१७ एसियन कप छनौटः नेपाल समूह एफ मा
गोलनेपाल

काठमाडौं । आगामी वर्ष बहराईनमा हुने एएफसी यु–१७ एसियन कप छनौटतर्फ नेपाल समूह एफमा परेको छ । मंगलबार एएफसीको मुख्यालयमा निकालिएको ड्र अनुसार नेपाल पूर्व विजेता थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेईसँगै समूह एफमा परेको हो ।

छनौट प्रतियोगिता अन्तरगत समूह एफका खेलहर भियतनाममा हुनेछन् । नेपालले आफ्नो पहिलो खेल ५ अक्टुबरका दिन थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै ७ अक्टुबरका दिन आयोजक भियतनाम तथा ९ अक्टुबरका दिन चाइनिज ताइपेईसँग खेल्नेछ ।

छनौट प्रतियोगितामा सहभागि हुने कुल ४४ टोलीहरुलाई दश समूहमा विभाजन गरिएको छ । समूहको शिर्ष टोली आगामी वर्ष बहराईनमा हुने एएफसी यु–१७ एसियन कपका लागि सोझै छनौट हुनेछ । त्यस्तै समूहबाट उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीको पनि फाइनल चरणमा छनौट हुने सम्भावना कायम रहनेछ ।

जापान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो । खासगरी आगामी वर्ष हुने भनिएको प्रतियोगिता सन् २०२० मै आयोजना हुने तय भईसकेको थियो । तर विश्वव्यापी कोभिड–१९ महामारीका कारण सो प्रतियोगिता स्थगित भएको थियो ।

त्यस्तै दक्षिण एसियाका दुई राष्ट्र भारत र माल्दिभ्स एउटै समूह डी मा परेका छन् । सो समूहमा यी दुई टोल्ीबाहेक बलियो साउदी अरेबिया, म्यानमार र कुवेत रहेका छन् । समूह डी का सबै खेलहरु साउदी अरेबियामा हुनेछन् ।

त्यस्तै भुटान र बंगलादेश समूह ई मा परेका छन् । बंगलादेशमा आयोजना हुने समूह ई मा यी दुई टोलीबाहेक यमन र सिंगापुर रहेका छन् । त्यस्तै अर्को दक्षिण एसियाली राष्ट्र श्रीलंका समूह जे मा परेका छ । सो समूहमा दुई पूर्व विजेता दक्षिण कोरिया र उज्वेकिस्तानसँगै ब्रुनेई रहेका छन् । समूह जे का खेलहरु उज्वेकिस्तानमा हुनेछन् ।

 

Post Comments