AFC/FIFA होन्डाले ब्राजिलियन क्लब छाड्ने पक्का
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जापानका स्टार मिडफिल्डर केइसुके होन्डाले ब्राजिलियन टप डिभिजन क्लब बोटाफोगो छाडेका छन् । ३४ बर्षिय एसियन कप च्याम्पियन होन्डाले आफ्नो सामाजिक सञ्जालमार्फत ब्राजिलियन क्लब छाडेको कुरा पुष्टी गरेका छन् ।

सन् २०११ मा जापानलाई कतारमा सम्पन्न एएफसी एसियन कप जिताउन अहम भूमिका खेलेको होन्डा यसै बर्षको शुरुवातमा ब्राजिलियन क्लबमा आवद्ध भएका थिए । यद्यपि तीन फिफा विश्वकप खेलेका यी जापानिज स्टारले ११ महिनाको ब्राजिल बसाईपछि बोटाफोगो छाड्ने निर्णय गरेका हुन् ।

रिपोर्टअनुसार होन्डाले ब्राजिलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि क्लब छाड्न लागेको बताइएको छ । स्मरणीय छ, फेब्रुअरीमा उनी ब्राजिल पुग्दा होन्डालाई बोटाफोगोका समर्थकहरुले भव्य रुपमा स्वागत गरेका थिए । तर ब्राजिल बसाईका क्रममा उनले २७ खेलमा केवल तीन गोल मात्र गर्न सके ।

साथै बोटाफोगोले ब्राजीलको टप लिगमा रेलिगेशनका लागि समेत संघर्ष गर्नुपरेको थियो । गत सिजन २७ खेलबाट २३ अंक मात्र जोडेको बोटाफोगो लिगतालिकामा पुछारबाट दोस्रोमा रहेर रेलिगेशनमा पर्न बाध्य भएको थियो ।

होन्डा फेरि युरोप नै फर्किने चर्चा

यसअघि इटालियन महारथी एसी मिलान र चर्चित रसियन क्लब सिएसके मस्कोका लागि खेलेका होन्डा फेरि युरोप नै फर्किने हल्ला पनि छ । तर यसबारे अहिले नै पुष्टी भईसकेको छैन ।

सन् २०१८ को फिफा विश्वकप पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका होन्डाले कम्बोडियाको राष्ट्रिय फुटबल टोलीको जनरल म्यानेजरको जिम्मेवारीलाई भने निरन्तरता दिनेछन् । होन्डा सन् २०१८ यता कम्बोडियाको म्यानेजरका रुपमा पनि कार्यरत छन् ।

 

Post Comments