ANFA संघर्षपुर्ण जितका साथ भैरव सेमिफाइनलमा
सुरज राना मगर

बुङ्ची । संघर्षपुर्ण जितका साथ भैरव स्पोर्टस क्लब जारी प्रथम सुर्योदय खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वाटरफाइनल खेलतर्फ भैरवले राइजिङ स्टार युथ क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

बुङ्ची, कपिलवस्तु स्थित सिद्धार्थ खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । पेनाल्टी शुटआउटमा राइजिङ स्टारका राज भुषाल, बिपिन ठकुरी र निकेश खत्रीले मात्र गोल गर्न सके । बिशाल पुन र बिकास राईको प्रहार भने चुकेको थियो ।

त्यस्तै भैरवका लागि प्रबिन मगर, रोशन दोङ, केशव दर्लामी र कान्छा गुरुङले गोल गर्दै टोलीको जित पक्का गरे । खेलमा भैरवका रोशन दोङ म्यान अफ द म्याच घोषित भए । भैरवले सेमिफाइनलमा अब १७ गते न्यु युथ युनियन, पाल्पासँग प्रतिस्पर्धा गर्नेछ ।

सुर्योदय सामाजिक विकास संस्था, बुङ्ची, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १, ०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक रमेश मल्ले जानकारी दिए । फाइनल खेल यहि फागुन १९ गतेका दिन हुनेछ ।

Post Comments