ANFA शेर्पालाई हराउँदै पुलिस क्वाटरफाइनलमा
उमेश पुन

पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब यहाँ जारी २०औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ पुलिसले हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । त्यसअघि पोखरा रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

दोस्रो हाफको ५३औं मिनटमा निर कुमार राईको गोलबाट अग्रता बनाएको पुलिसले त्यसलाई दश मिनट लगतै गुमाउन पुग्यो । ६३औं मिनटमा शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले बराबरी गोल फर्काउन सफल भए ।

निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयमा पनि थप नतिजा ननिस्किएपछि खेलको निर्णय टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा भने पुलिसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा पुलिसका गोलरक्षक रोशन खड्का म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत ट्रफी र ८ हजार हात पारे । प्रतियोगिता अन्तरगत माघ ८ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल पाहुना टोली बिवाईएससी मिनेसोटा, अमेरिका र नेपाल एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यहि माघ १५ गतेका दिन हुनेछ ।

Post Comments