ANFA थ्रीस्टारको प्रभावशाली जित
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ रुस्लान थ्रीस्टार क्लबले प्रभावशाली जित हात पार्दै महत्वपूर्ण तीन अंक बटुलेको छ ।

बिहीबार दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ ले हरायो । खेलको पाँचौं मिनटमै सुशिल राईको गोलबाट स्टारले खेलमा अग्रता बनाएको थियो ।

यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा शेर्पाका लागि स्टेफनले फ्रिकिकबाट बराबरी गोल फर्काए । तर, शेर्पाले त्यो बराबरी गोलको खुशी एक मिनट पनि मनाउन सकेन ।

बराबरी गोल खाएको एक मिनट बित्न नपाउँदै सन्जोक राईले स्टारका लागि दोस्रो गोल गर्दै टोलीलाई खेलमा फेरि अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको ५०औं मिनटमा वासियु हजिमतले स्टारका लागि तेस्रो गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच पनि थ्रीस्टार कै सन्जोक राई घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी प्राप्त गरे ।

यो जितसँगै ८ खेलबाट १४ अंक जोडेको स्टार लिगतालिकाको तेस्रो स्थानममा छ । उता पराजित शेर्पा भने ७ अंकका साथ ११औं स्थानमा रहेको छ ।

Post Comments