ANFA डिएमसी सञ्जिवनी कपको सेमिफाइनलमा
सुरज राना मगर

बागधुरा । उत्कृष्ट जितका साथ डिएमसी, तुल्सीपुर जारी पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न पहिलो क्वाटरफाइनलमा डिएमसीले फर्साटिकर युवा क्लबमाथि ५–२ को जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

तिलोत्तमा–१४, बागधुरा स्थित सञ्जिवनी खेलमैदानमा भएको खेलमा डिएमसीका लागि अजय पसाईले ह्याट्रिक गरे । त्यस्तै कप्तान जिवन सुवेदी र आशिष गुरुङ्गले थप एक–एक गोल गरे । उता पराजित फर्साटिकरका लागि कृष्ण राना र चन्द्र पुनले गोल फर्काएका थिए ।

खेलमा डिएमसीका प्रविन थापा म्यान अफ द म्याच घोषित भए । उनले समाजसेवी तथा खेलप्रेमी मित्रलाल न्यौपानेले नगदसहित पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत माघ २५ गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल फोर ब्रदर्श, नवलपरासी र जनज्योति क्लब, डिङ्गरनगरबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन २ गतेका दिन हुनेछ ।

Post Comments