Goalnepal Foundation ताप्लेजुङ गोल्डकपबाट तामाङको उपचारका लागि सहयोग
गोलनेपाल

फुङलिङ । भर्खरै सम्पन्न ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताबाट संकलित केही रकम फुङलिङ नगरपालिका–५ निवासी नन्द कुमार तामाङको उपचारका लागि सहयोग गरिएको छ ।

तामाङ कै सहयोगार्थ फुङलिङमा झापा र ताप्लेजुङ भेट्रानबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । खेलपश्चात झापा भेट्रानको तर्फबाट ३० हजार र ताप्लेजुङ भेट्रानकोतर्फ १० हजार, लाखेजात्रा संचालन समितिको तर्फबाट १६ हजार तथा समितिका अध्यक्ष देवराज गुरुङको तर्फबाट ५ हजार गरी कुल ६१ हजार रुपैयाँ संकलन भएको थियो ।

हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका तामाङको उपचार खर्चवापत उक्त ६१ हजार रुपैयाँ उनको परिवारलाई हस्तान्तरण गरिएको लाखेजात्रा संचालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

रेड हर्षले जितेको थियो ताप्लेजुङ गोल्डकपको उपाधि

बुधबार मात्र सम्पन्न भएको ताप्लेजुङ गोल्डकपको उपाधि रेड हर्ष फुटबल क्लब, इलामले जितेको थियो । फुङलिङ स्थित श्री भानु जन माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा रेड हर्षले जुट विकास फुटबल एकेडेमी, इटहरीलाई १–० ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।

विजेता बनेको रेड हर्षले उपाधिसहित नगद ३ लाख ११ हजार हात पारेको थियो भने उपविजेता जुट विकासले १ लाख ५१ हजार प्राप्त गरेको थियो । प्रतियोगितामा नेपाल र भारतको एक टोली गरि कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments