Province 3 फिफा क्लब विश्वकपः इन्टर मियामीको जित, पिएसजी स्तब्ध
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा क्लब विश्वकपतर्फ अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको टोली इनटर मियामीले महत्वपूर्ण जित हात पार्दा युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित हुन पुगेको छ ।

समूह ए तर्फको आफ्नो दोस्रो खेलमा इन्टर मियामीले पोर्टोलाई २–१ ले हरायो । खेलमा शुरुवाती अग्रता भने पोर्टोले लिएको थियो । खेलको आठौं मिनट मै सामुएल अघेहोवाले पेनाल्टीमार्फत पोर्टोका लागि शुरुवाती गोल गरे ।

तर, इन्टर मियामीले खेमा रोमाञ्चक पूनःरागमन गर्यो । खेलको ४७औं मिनटमा जोसे पेरेजले मियामीका लागि बराबरी गोल फर्काए भने ५४औं मिनटमा लियोनल मेसीले मियामीका लागि दोस्रो तथा निर्णायक गोल गरे ।

सोही समूहको अर्को खेलमा पाल्मिराजले अल अहलीलाई २–० ले पराजित गर्यो । यो नतिजापछि समूह ए मा २ खेलबाट समान ४–४ अंक जोडेका पाल्मिराज र इन्टर मियामी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । साथै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनाएका छन् । १–१ अंक जोडेका पोर्टो र अल अहली क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

यद्यपि नकआउट चरणमा प्रवेश गर्ने झिनो सम्भावना पोर्टो र अल अहली दुवैको कायम छ । समूह चरणको अन्तिम तथा निर्णायक खेलमा जुन २३ तारीखका दिन इन्टर मियामीले पाल्मिराजको सामना गर्नेछ भने सोही दिन पोर्टोले अल अहलीसँग खेल्नेछ ।

त्यस्तै समूह बी तर्फ युरोपियन च्याम्पियन पिएसजीले ब्राजिलियन क्लब बोटाफोगोसँग ०–१ को हार बेहोरेको छ । सोही समूहको अर्को खेलमा एटलेटिको मेड्रिडले सिटल साउन्डर्स एफसीलाई ३–१ ले पराजित गर्यो ।

यो नतिजापछि समूह ए मा २ खेलबाट ६ अंक जोडेको बोटाफोगो शिर्ष स्थानमा छ र नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । ३–३ अंक जोडेका पिएसजी र एटलेटिको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहनी सिटल साउन्डर्स पुछारमा छ ।

समूह चरणको अन्तिम तथा निर्णायक खेलमा २३ जुनका दिन सिटल साउन्डर्स र पिएसजी भिड्ने छन् भने सोही दिन एटलेटिको मेड्रिडले बोटाफोगोको सामना गर्नेछ ।

Post Comments