International चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । इङलिस क्लब तथा पूर्व विजेता चेल्सी जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । प्रतियोगिताको दोस्रो प्रिक्वाटरफाइनलतर्फ चेल्सीले पोर्चुगिज क्लब बेनफिकालाई ४–१ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि थपिएको अतिरिक्त समयमा चेल्सीले जित हात पारेको थियो । खेलको ६४औं मिनटमा रिसे जेम्सको गोलबाट चेल्सीले अग्रता बनाए पनि खेलको अन्तिमतिर गोल खान पुगेको थियो । खेलको इन्जुरी समयमा एन्जल डि मारियाले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा भने चेल्सी हावी बन्यो । खेलको १०८औं मिनटमा क्रिस्टोफ एनकुन्कुले चेल्सीका लागि दोस्रो गोल गरे । ११४औं मिनटमा पेड्रो नेटोले तेस्रो गोल थप्दा, त्यसको तीन मिनट लगतै किरमान डियुसब्युरी–हलले चौथो गोल गर्दै चेल्सीको जित पक्का गरे ।

चेल्सीले अब ४ जुलाईका दिन हुने दोस्रो क्वाटरफाइनलतर्फ ब्राजिलियन क्लब पाल्मिरासको सामना गर्नेछ । पाल्मिरासले शनिबार राती नै सम्पन्न पहिलो प्रिक्वाटरफाइनलमा बोटाफोगोलाई १–० ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरिसकेको छ ।

Post Comments