News अर्जेन्टिनाको जित, ब्राजील रोकियो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ दुई दक्षिण अमेरिकी महारथीद्वय अर्जेन्टिनाले जित हात पार्दा ब्राजीले भने बराबरीमा चित्त बुझाएको छ ।

विश्वकपका लागि यसअघि नै छनौट भईसकेको हालसम्मको एक्लो दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले चिलीलाई उसकै घरमा १–० ले हरायो । खेलको १६औं मिनटमा जुलियन अल्वारेजले गरेको एक मात्र गोल अर्जेन्टिनी टोलीको जितमा निर्णायक गोल बन्यो ।

यो नतिजापछि १५ खेलबाट ३४ अंक जोडेको अर्जेन्टिना दक्षिण अमेरिकी छनौटको लिगतालिकामा शिर्ष स्थानमा यथावत छ । पराजित चिली भने १० अंकका साथ पुछारमा छ ।

त्यस्तै दक्षिण अमेरिकी छनौटतर्फ नै भएको अर्को खेलमा ब्राजील बराबरीमा रोकिएको छ । ब्राजीललाई इक्वेडरले आफ्नै घरेलु मैदानमा गोलरहित बराबरी खेल्दै अंक खोसेको हो ।

यो नतिजापछि १५ खेलबाट २४ अंक जोडेको इक्वेडर दोस्रो स्थानमा छ । उता ब्राजील भने २२ अंकका साथ चौथो स्थानमा छ । दक्षिण अमेरिकी छनौटबाट शिर्ष ६ स्थानमा रहने टोलीहरु फिफा विश्वकपका लागि सोझै छनौट हुनेछन् । त्यस्तै सातौं स्थानमा रहने टोलीले प्ले अफ खेल्न पाउनेछ भने अन्य तीन टोलीहरु छनौट प्रतियोगिताबाट बाहिरिने छन् ।

 

Post Comments