
काठमाडौ (एजेन्सी) । रोमाञ्चक र संघर्षपुर्ण जितका साथ प्रतिष्ठित युईएफए नेशन्स लिगको उपाधी पोर्चुगलले दोस्रोपटक जित्न सफल भएको छ ।
जर्मन शहर म्युनिखमा सम्पन्न फाइनलमा पोर्चुगलले स्पेनलाई टाईब्रेकरमा ५-३ ले हराउँदै दोस्रोपटक उपाधी जित्न सफल भएको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए । खेलको २१औं मिनेटमा मार्टिन जुबिमेन्डीको गोलबाट अग्रता बनाएको स्पेनले त्यो अग्रता धेरैबेर जोगाउन सकेन ।
२६औं मिनेटमा नुनो मेन्डेजले पोर्चुगलका लागि बराबरी गोल फर्काएका थिए । तर मध्यान्तर हुनु केही मिनेट अघि मिकेल ओयरजबलले स्पेनलाई दोस्रोपटक खेलमा अग्रता दिलाए ।
यद्यपि त्यो अग्रता पनि स्पेनले जोगाउन सकेन । पोर्चुगलका लागि ६१औं मिनेटमा कप्तान क्रीस्टियानो रोनाल्डोले दोस्रो बराबरी गोल फर्काउँदै खेललाई २-२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछी पेनाल्टी शुटआउटमा पोर्चुगल ५-३ ले विजयी बन्यो ।
स्मरण रहोस, पोर्चुगलले यसअघि सन २०१९ मा पहिलोपटक युईएफए नेशन्स लिगको उपाधी जितेको थियो ।