
काठमाडौं (एजेन्सी) । दावेदारका रुपमा हेरिएको पोर्चुगल र पाँचपल्टको विजेता तथा गत संस्करणको उपविजेता स्पेन हाल स्लोभाकियामा जारी युइएफए यु–२१ युरो च्याम्पियनसिपको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलतर्फ पोर्चुगलले नेदरल्याण्डससँग ०–१ को साँघुरो अन्तरको हार बेहोर्यो । नेदरल्याण्डसका लागि ८४औं मिनटमा अर्नेस्ट पोकुले गरेको एक मात्र गोल डच टोलीलाई अन्तिम चारमा पुर्याउन निर्णायक गोल बन्यो ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा साविक विजेता इङल्याण्डले साविक उपविजेता स्पेनमाथि ३–१ को प्रभावशाली जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । खेलको १०औं मिनटमा जेम्स म्याकएटीको गोलबाट इङल्याण्डले खेलमा अग्रता बनाएको थियो । लगतै १५औं मिनटमा हार्वे इलियटले त्यो अग्रता दोब्बर पारे ।
उता, ३९औं मिनटमा जेमियर मोरेनोले स्पेनका लागि पेनाल्टीमार्फत पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर अन्तिमतिर स्पेनले तेस्रो गोल खान पुग्यो । खेलको इन्जुरी समयमा इलियट एन्टरसनले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै इङल्याण्डको जित पक्का गरे ।
अब २५ जुनका दिन हुने पहिलो सेमिफाइनलमा इङल्याण्डले नेदरल्याण्डसको सामना गर्नेछ । त्यस्तै दोस्रो सेमिफाइनलका लागि आइतबार राती अन्तिम दुई क्वाटरफाइनलहरु हुँदैछन् । जसअन्तर्गत तेस्रो क्वाटरफाइनलतर्फ डेनमार्क र फ्रान्स भिड्दै छन् भने चौथो क्वाटरफाइनलमा जर्मनी र इटाली भिड्दै छन् ।