
शिवपुर । यहाँ जारी प्रथम योङ ब्वाईज कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न तीन खेलहरुमा राईजिङ युथ क्लब, रामनगर साकुरा क्लब र आरकेवाइसीले जित हात पारेका छन् ।
तिलोत्तमा–११, शिवपुर स्थित शिवपुर माविको खेलमैदानमा भएको दिनको पहिलो खेलमा राईजिङले एमवाईसी (बी) लाई २–१ ले हरायो । दोस्रो खेलमा रामनगरले सुनवल एफसीलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
त्यस्तै दिनको अन्तिम खेलमा आरकेवाइसीले दोभान फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्यो । जित हात पारेका तीनै टोलीहरु दोस्रो चरणमा प्रवेश गरेको प्रचार प्रसार संयोजक रोहन कार्कीले जानकारी दिए ।
योङ ब्वाईज क्लब र शिवपुर फुटबल क्लब, तिलोत्तमा, रुपन्देहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल भने असार २३ गतेका दिन हुनेछ ।