
धरान । यहाँ सम्पन्न प्रथम मदन भण्डारी स्मृति कप नकआउट महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज फुटबल क्लब, सुनसरीले जितेको छ ।
फाइनलमा धरान लेडिजले फेयर फुटबल क्लब, धरानलाई २–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । विजेता बनेको धरान लेडिले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता फेयर एफसीले २५ हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
फाइनल खेलको प्लेयर अफ दि म्याच धरान लेडिजकी प्रतिक्षा राई बनिन् । उनले त्यसवापत नगद २ हजार र ट्रफी हात पारिन् । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक धरान लेडिज कै बिनु राई बन्दा उत्कृष्ट डिफेन्डर धरान लेडिजकी आयुषा राई चुनिईन् ।
उत्कृष्ट मिडफिल्डर पनि धरान लेडिज कै खुश्मा राई बन्दा उत्कृष्ट फरवार्ड फेयर एफसीकी प्रशंसा राई बनिन् । उदीयमान खेलाडी पनि फेयर एफसी कै इचिहाङ्ग लिम्बु चुनिदा, उत्कृष्ट प्रशिक्षक धरान लेडिजका अर्जुन राई बने । उत्कृष्ट बनेका सबैले जनही २–२ हजार र ट्रफी हात पारे ।
त्यस्तै धरान लेडिजकी शिक्षा याक्खाले प्रोत्साहन पुरस्कार हात पारिन् । पटनाली फुटबल क्लब, सुनसरी प्रतियोगिताको फेयर प्ले टिम बन्यो । त्यसवापत पटनालीले ३ हजार र ट्रफी हात पार्यो ।
प्रतियोगिताभरि कुल ६ गोल गरेकी धरान लेडिजकी सुनिता राईले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारिन् । त्यसवापत उनले नगद २ हजार र ट्रफी प्राप्त गरिन् । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने धरान लेडिजकी जिनु राई घोषित भईन् । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारिन् ।
विजेता तथा उपविजेता टोलीका खेलाडी र अफिसियलहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कृत गरेका थिए ।