
काठमाडौं । एएफसी महिला एसियन कप छनौट प्रतियोगितातर्फ आइतबार नेपालले लाओसमाथि ९–० को फराकिलो जित निकाल्दा नेपालको जितमा साबित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् ।
एएफसी महिला एसियन कप छनौटतर्फ आफ्नो डेब्यु कप्तानीमा नेपाललाई आइतबार शानदार जित दिलाएकी साबित्राले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो गोलसंख्यालाई लम्ब्याउन समेत सफल भईन् ।
आइतबार लाओस विरुद्ध गरेको पाँच गोलसँगै नेपालका लागि साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्या ५८ खेलमा ६२ पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि महिला र पुरुष दुवैतर्फ सर्वाधिक गोलकर्ताको सूचीमा साबित्रा नै अगाडी छिन् ।
सम्भवत साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्याको सूची थप लम्बिने सम्भावना पनि प्रबल छ । छनौट प्रतियोगिता अन्तर्गत जुलाई २ तारीख बुधबारका दिन नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्नेछ । जहाँ धेरैको नजर एकपल्ट फेरि साबित्रा मै टक्क अडिनेछ ।