सियारी । डिवाइसी क्लब, सियारी गाउँपालिका–१, कोटहीमाईको आयोजनामा शुक्रबारदेखि स्व. मोहन घर्ती क्षेत्री स्मृति चौथो डिवाइसी कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता शुरु भएको छ ।
सियारी गाउँपालिका–१ स्थित चिल्हिया माविको खेलमैदानमा भएको उद्घाटन खेलमा पठान फर्निचर तथा भण्डारी आल्मुनियम एफसीले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा पठान फर्निचर तथा भण्डारी आल्मुनियमले आयोजक डिवाइसी (बी) लाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
रोमाञ्चक खेलमा पठान फर्निचर तथा भण्डारी आल्मुनियमका लागि मनिष थापा र अवतार थापाले गोल गरे । उता पराजित डिवाइसीका लागि भने संगम सोमरे मगरले एक मात्र गोल फर्काएका थिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन प्रतियोगिताको मुख्य प्रायोजक तथा प्रमुख अतिथी स्व. मोहन घर्ती क्षेत्रीकी धर्मपत्नी मञ्जु घर्ती क्षेत्री, सियारी गाउँपालिका वार्ड नम्बर १ का अध्यक्ष अरुण कुमार शाही, आयोजक डिवाइसी क्लबका अध्यक्ष दिनेश कार्की, खेल संयोजक मुकुल क्षेत्री लगायतले संयुक्त रुपमा गरेका थिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक मुकुल क्षेत्रीले जानकारी दिए ।

