सिमरा भेट्रान क्लबको आयोजनामा भदौ २१ गतेदेखि २८ गतेसम्म अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सिमरा रंगशालामा हुने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे विस्तृत जानकारी दिइएको हो।
प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने छन्। सहभागी टिममा नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लबजस्ता विभागीय टिमहरूका साथै मोरङ र रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, आयोजक टिम तथा भारतको दार्जिलिङस्थित कुरसङ गल्स फुटबल एकेडेमी छन्। खेलहरू रात्री समयमा हुनेछन, जसले स्थानीय दर्शकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।
उत्साहजनक पुरस्कार राशी
प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
महिला फुटबलको विकासमा नयाँ ढोका
सिमरा भेट्रान क्लब विगत चार वर्षदेखि भेट्रान फुटबल प्रतियोगिता गर्दै आएकोमा यस वर्षदेखि महिला फुटबललाई प्रथमिकता दिँदै नयाँ पहलको थालनी गरेको हो। क्लब अध्यक्ष राजकपुर राउतका अनुसार महिला खेलाडीको प्रतिभा उजागर गर्न प्रतियोगितालाई निरन्तरता दिइनेछ।
बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले महिला फुटबलको विकासका लागि यस्ता प्रतियोगिता अपरिहार्य भएको बताए। 'पछिल्लो समय महिला फुटबलप्रतिको जनचासो र उत्साह उल्लेखनीय रूपमा बढेको छ' उनले भने 'सिमरालाई महिला खेलाडी उत्पादनको केन्द्र बनाउने सम्भावना अब बलियो हुँदै गएको छ।'
स्थानिय तहदेखि राष्ट्रिय लक्ष्यसम्म
प्रतियोगिता सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्षहरू चयन गुरुङ ९वडा नं। १४० र धनबहादुर श्रेष्ठ ९वडा नं २० ले विद्यालयस्तरमै फुटबललाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनीहरूले आयोजकलाई आवश्यक सबै प्रकारको सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।
पुराना सम्झना, नयाँ संकल्प
सिमरामा २०६५ सालमा गणतान्त्रिक राष्ट्रिय महिला फुटबल प्रतियोगिता र २०६९ सालमा एन्फाको आयोजनामा एनसेल महिला फुटबल प्रतियोगिता सम्पन्न भएको थियो। तर त्यसयता यहाँ राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थिएन। प्रतियोगिताको अभावले विद्यालयस्तरमा प्रशिक्षण लिएका थुप्रै महिला खेलाडीले अवसर गुमाउँदै आएका थिए।
यो पटकको प्रतियोगिताले त्यस अभावलाई चिर्दै महिला फुटबलको पुनर्जागरण गर्ने अपेक्षा गरिएको छ। नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी र आयोजक टिमका हरी चौधरीले वर्षौंपछि सिमरामा महिला फुटबल फर्किनु गौरवको क्षण भएको बताए।
रंगशालाको सम्भावना र रणनीति
१५ संस्करण सम्पन्न भइसकेको प्रतिष्ठित जीतपुरसिमरा गोल्डकपको अनुभव सँगाल्दै निर्माणाधीन सिमरा रंगशालाले मधेश प्रदेशस्तरीय मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्षमताको विकास गरिरहेको छ।
राजनीतिक दलका नेता, मन्त्री तथा जनप्रतिनिधिहरूले रंगशालालाई अत्याधुनिक पूर्वाधारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै आएका छन्। यसपटकको महिला फुटबल प्रतियोगिता रंगशालाको क्षमता, सिमराको सम्भावना र खेलकुद क्षेत्रको भविष्यलाई उजागर गर्ने अवसरको रूपमा हेरिएको छ।