काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा अहिले मलेसियन फुटबलको संकट थप गहिरिदै गएको संकेत देखिएको छ । मलेसियाले सात विदेशी खेलाडीहरुलाई राष्ट्रिय टोलीबाट खेलाउन नक्कली कागजात पेश गरेको, जालझेल गरेको आरोपमा फिफाले कारवाही गरेपछि यो संकट गहिरिएको हो ।
फिफाको अनुशासन कमिटीको बुँदा २२ बमोजिम नक्कली कागजात पेश र जालझेलको मामिलामा सात विदेशी खेलाडीहरुलाई १२ महिनाको प्रतिवन्ध र मलेसिया फुटबल फेडरेशनलाई आर्थिक जरिवाना गरेको छ । साथै मलेसियन एफए र सम्बन्धित खेलाडीहरुलाई यसबारे अपिल गर्न दश दिनको म्याद समेत दिइएको छ । त्यसपछि फिफाले अन्तिम निर्णय लिने बताइएको छ ।
त्यति मात्र नभई फिफा र एएफसीले मलेसियालाई हाल जारी एएफसी एसियन कप छनौट प्रतियोगिताबाट प्रतिवन्ध लगाउनेबारे पनि विचार भईरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै एसियन कप छनौटतर्फ मलेसियाले पाएको नतिजा पनि उल्टिने सम्भावना प्रबल छ ।
फिफा र एएफसीको नियमअनुसार कुनै पनि टोलीले अयोग्य खेलाडीलाई खेलाएको थाहा पाए र कारवाही भए त्यो टोलीले स्वतः नतिजा ३–० ले विपक्षीलाई सुम्पिनुपर्नेछ । यो अर्थमा एसियन कप छनौटतर्फ नेपाल र भियतनामलाई तीन–तीन अंक बटुल्ने अवसर पनि छ ।
स्मरण रहोस, एएफसी एसियन कप छनौटतर्फ समूह एफमा रहेको मलेसियाले आफ्नो पहिलो खेलमा नेपाललाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा भियतनामलाई ४–० ले हराएको थियो । तर, हाल मलेसिया कारवाहीमा परेपछि यो नतिजा ३–० ले नेपाल र भियतनामको पक्षमा जाने सम्भावना रहेको छ ।
साथै यो घट्नाक्रमबारे एसियाली फुटबल महासंघ (एएफसी) ले पनि सुक्ष्म र गहिरिएर अध्ययन गरिरहेको बताएको छ ।