News पञ्चायन पाँचौं सुकचर च्यालेञ्ज कपको सेमिफाइनलमा
गोलनेपाल

सुकचर । प्रभावशाली जितका साथ पञ्चायन फुटबल क्लब, रामधुनी, सुनसरी जारी पाँचौं सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा पञ्चायनले केराबारी फुटबल क्लब, मोरङलाई ४–० को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो ।

बुढीगंगा खेलमैदानमा भएको खेलमा पञ्चायनका लागि पुजन चौधरीले दुई गोल गर्दा अनिस आरडी र सन्दिप लिम्बुले समान एक–एक गोल गरे । खेलमा दुई गोल गरेका पञ्चायनका पुजन चौधरी म्यान अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत असोज १३ गते सोमबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल तालतलैया फुटबल क्लब, इटहरी, सुनसरी र नव युवा क्लब, सुकचर, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

नवयुवा क्लब सुकचर ११, बुढीगंगा–६, सुकचर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज १८ गतेका दिन हुनेछ ।

Post Comments