ठोरी । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा न. चार विजयबस्तिमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार रेगल एन्फा मकवानपुर हेटौंडा र श्री त्रिशुल क्लब बकुलियाबिच भएको तेस्रो क्वाटर फाइनल खेलमा पेनाल्टी सुटआउटमा जित हात पार्दै मकवानपुर ठोरी गोल्डकपको अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
निर्धारित समय गोल रहित रोमान्चक बराबरीमा टुङ्गिएको उक्त खेल पेनाल्टी सुट आउटमा रेगल एन्फा मकवानपुरले त्रीशुल क्लब बकुलियालाई एकका विरुद्ध चार गोलको सहज नतिजामा हराएको थियो ।
कुल चार/चार प्रहार भएको पेनाल्टी सुट आउटमा मकवानपुरले सम्पूर्ण प्रहारलाई गोलमा परिणत गर्दा त्रीशुल क्लब बकुलियाले भने पहिलो प्रहार बाहेक अन्य कुनै प्रहार गोल गर्न नसक्दा बकुलियाको उपाधी यात्रामा पूर्णविराम लागेको हो ।
बकुलियाको तर्फबाट दोस्रो प्रहार र अन्तिम प्रहार पोलमा लाग्दै बाहिरिदा तेस्रो प्रहार भने मकवानपुरका गोल रक्षक गोपी बर्तौलाले रोक्न सफल भएका थिए।
उक्त खेलको म्यान अफ दी म्याच मकवानपुरका सामेल सुनार बन्दै उनले नगद रु. २५०० सहित ट्रफी मेडल प्राप्त गरेका छन।
बुधबार अन्तिम क्वाटर फाइनल खेलमा प्रतिभा युवा क्लब (आयोजक) र पर्सागढि वाई.एस.सि बढ्हानिर बिच दिनको टिक ३ बजे प्रतिस्पर्धा हुनेछ।