News पैयुँ पर्वत युथ गोल्डकपः लप्पो, होराइजन, मर्दिखोला युनाइटेड (सेतो) र एबीसी सेमिफाइनलमा
गोलनेपाल

मर्दिखोला । लप्पो एफसी, पोखरा, होराइजन क्लब, वालिङ, आयोजक मर्दिखोला युनाइटेड (सेतो) र अनुशासित ब्वाईज क्लब (एबीसी) यहाँ जारी पैयुँ पर्वत गोल्डकप राष्ट्रिय यु–१८ फुटबल प्रतियोगिताको सेमिफायनलमा प्रवेश गरेका छन् ।

पैयुँ गाउँपालिका–४ स्थित आयोजकको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा लप्पोले मर्दिखोला युनाइटेड क्लब (रातो) लाई २–० ले हराउँदै सेमिफाइनल स्थान पक्का गर्यो । लप्पोको जितमा संगम गुरुङ र योगेश पुनले गोल गरे । खेलमा लप्पो कै योगेश पुन म्यान अफ दि म्याच बने ।

दोस्रो क्वाटरफाइनलमा होराइजनले सोसल वेलफेयर स्पोर्टस क्लब, काठमाडौंलाई १–० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । होराइजनका लागि प्रमित गन्धर्वले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने होराइजन कै अफरोज अलीले चुनिए ।

तेस्रो क्वाटरफाइनलमा आयोजक मर्दिखोला (सेतो) ले पर्वत इङलिस बोर्डिङ स्कुल, पर्वतलाई ४–० को अन्तरले हराउँदै सेमिफाइनलमा स्थान तय गर्यो । मर्दिखोलाका लागि बिरेन्द्र मल्लले दुई गोल गर्दा सोनम बिक र दिवान थापाले समान एक–एक गोल गरे । खेलमा पराजित पर्वत इङलिस बोर्डिङ स्कुलका दिपेश काफ्ले म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी चौथो क्वाटरफाइनलमा अनुशासित ब्वाईजले सक्षम फुटबल क्लब, हेटौडालाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल बन्यो । अनुशासितका लागि पेम्बा तामाङले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच बने अनुशासित कै गोलरक्षक सन्देश तामाङ घोषित भए ।

प्रतियोगिता अन्तर्गत कार्तिक १ गते शनिबार दुवै सेमिफाइनल खेलहरु हुनेछन् । जसअन्तर्गत पहिलो सेमिफाइनलमा मर्दिखोला युनाइटेड (सेतो) ले होराइजन क्लबको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा लप्पो एफसीले अनुशासित ब्वाईज क्लब (एबीसी) सँग भिड्नेछ ।

मर्दिखोला युनाइटेड क्लब, पर्वतको आयोजना तथा पैयुँ गाउँपालिका, पर्वतको विशेष सहयोगमा जारी जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments