News आठराई गाउँपालिका, छातेढुङ्गा दिपावली मेला २०८२ को च्याम्पियन
गोलनेपाल

आठराई । तेह्रथुम जिल्लाको आठराई गाउपालिका वडा न.- 5 छातेढुङ्गामा जारी भगवति ट्रफि तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको बिजेता टुङ्गो लागेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा आठराई गाउँपालिका र लाफा एफ सीबिच रोमान्चक प्रतिस्पर्धा हुँदा एक शून्यको साँघुरो जित हात पार्दै गत संस्करणको उपविजेता टोली आठराई गाउँपालिका यसपटक भने विजेता बन्न सफल भएको छ। आठराईलाई जित दिलाउनका लागि दिपेश लिम्बुले एकमात्रै निर्णायक गोल गरेका थिए ।

विक्रम सम्वत् २०३९ सालबाट प्रत्येक वर्ष लाग्दै आइरहेको ऐतिहासिक छातेढुङ्गा दीपावली मेला तेहथुम जिल्लाकै ऐतिहासिक फुटबल प्रतियोगिता हो ।

विसं २०५५ सालबाट प्रत्येक वर्ष सहभागिता जनाउँदै आइरहेको लाफा एफसी ईवा उपविजेतामा सीमित भएको छ निर्धारित समयभर उत्कृष्ट खेल प्रदर्शन गरेता पनि गोल गर्न नसकेपछि उपविजेतामा चित्त बुझाएको हो ।

व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता मितेरी युवा क्लब संक्रान्ति बजारका टासी लामा, उत्कृष्ट मिडफिल्डर आठराई गाउँपालिकाका सबिन तामाङ,बेस्ट गोल रक्षक आठराई गाउँपालिकाका विपिन फोम्बो, उत्कृष्ट डिफेन्डर लाफा एफसी ईवाको तर्फबाट टेकेन मगर साथै प्रतियोगिताको अनुशासित खेलाडी लाफा एफसीकै रोनिस राई बन्न सफल भएका हुन् ।

विजेता बनेको आठराई गाउँपालिकाले नगद रु १ लाख ७५ हजार सहित भगवती ट्रफी तथा पदम थापा स्मृति ३ वर्षीय रनिङ कप प्राप्त गरेको छ भने,उपविजेतामा चित्त बुझाएको लाफा एफसी ईवाले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

Post Comments