कर्जन्हा । यहाँ सम्पन्न चौथो कार्तिकेय कुमार गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि बिराटनगर सिटी फुटबल क्लब, मोरङले जितेको छ ।
बुधबार सम्पन्न फाइनलमा बिराटनगरले डाँगीहाट फुटबल क्लब, मोरङलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । बिराटनगरको जितमा दुवै गोल हरी खवासले गरे भने उता डाँगीहाटका लागि बिक्रम धिमालले एक गोल फर्काएका थिए ।
विजेता बनेको बिराटनगरले उपाधिसहित नगद २,५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता डाँगीहाटले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझायो । बिराटनगरका हरी खवास फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।
अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक बिराटनगर कै प्रमिजय गच्छदार बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार हरी खवासले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने डाँगीहाटका सञ्जय धिमाल घोषित भए ।
कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना र बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।