News न्यु युथ युनियन चौथो समपुर्ण कपको क्वाटरफाइनलमा
सुरज राना मगर

सुपौली । संघर्षपुर्ण जितका साथ न्यु युथ युनियन क्लब, तानसेन, पाल्पा जारी स्व. लाल बहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ न्यु युथ युनियनले आयोजक समपुर्ण युवा क्लब, सुपौली, रुपन्देहीलाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ खेलको १३औं मिनटमा सन्तोष कार्कीको गोलबाट न्यु युथ युनियनले नै खेलमा अग्रता बनाएको थियो । यद्यपि दोस्रो हाफतर्फ ३४औं मिनटमा कप्तान रोहित पुनले समपुर्णका लागि बराबरी गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने न्यु युथ युनियनले समपुर्णमाथि ४–१ को जित निकाल्यो । टाईब्रेकरमा समपुर्णका दुई पेनाल्टी प्रहार जोगाएका न्यु युथ युनियनका गोलरक्ष गोविन आले खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत कार्तिक २८ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र देवदह ब्वाईज, देवदहबीच हुने प्रचार प्रसार संयोजक रवी अर्यालले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौली, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने मंसिर ६ गतेका दिन हुनेछ ।

 

Post Comments