News रुपन्देहीमा दोस्रो वडा अध्यक्ष कप शुरु, पहिलो दिन दुई खेलहरु सम्पन्न
गोलनेपाल

बाँसगढी । जन जागृति युवा क्लब, सैनामैना–९, बाँसगढी, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि शुरु भएको दोस्रो वडा अध्यक्ष कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भएका छन् ।

आयोजक कै जन जागृति खेलमैदानमा भएको उद्घाटन खेलमा कन्दरा फुटबल क्लबले ड्रिम फुटबल क्लबलाई २–० ले हरायो । कन्दराको जितमा दुवै गोल सुमन थापाले गरे । थापा नै खेलको म्यान अफ दि म्याच चुनिए ।

दोस्रो खेलमा नव शान्ति युथ क्लबले विद्यापिठ फुटबल क्लबलाई ८–० को फराकिलो अन्तरले हरायो । नव शान्तिका लागि दर्शन मगर एक्लैले ६ गोल गरे भने अस्मित शर्मा र प्रवेश घलेले समान एक–एक गोल गरे । खेलमा ६ गोल गरेका नव शान्तिका दर्शन मगर म्यान अफ दि म्याच बने ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिका वार्ड नम्बर ९ का वडा अध्यक्ष भानु पाण्डेले गरेका थिए । सो अवसरमा आयोजक क्लबका अध्यक्ष प्रदिप केसी, खेल संयोजक चन्द्रकान्त अर्याल लगायतको पनि उपस्थिति रहेको थियो ।

आउँदो मंसिर १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक चन्द्रकान्त अर्यालले जानकारी दिए ।

Post Comments