बुटवल । रुपन्देही पुरानो र सफल क्लब मध्ये एक गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल, रुपन्देहीको आयोजनामा मंगलबारदेखि प्रथम स्व. निशान न्यौपाने स्मृति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
बुटवल–११, देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उद्घाटन खेल र पहिलो दिन झरना स्पोर्टस क्लब तथा जनज्योति क्लबले विजयी शुरुवात गरेका छन ।
उद्घाटन खेलमा झरनाले एन्फा एकेडेमी (रातो) लाई २–१ ले पराजित गर्यो । झरनाको जितमा दुवै गोल अशोक घर्ती मगरले गरे भने उता पराजित एन्फा एकेडेमीका लागि सन्दिप सेजुवालले गोल गरेका थिए । खेलमा दुई निर्णायक गोल गरेका झरनाका अशोक घर्ती मगर म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दोस्रो खेलमा जनज्योतिले न्यु पिएम सप्लायर्सलाई ३–० को अन्तरले हरायो । जनज्योतिको जितमा अस्मित शर्मा, गगन रजाली र बिजन सुर्यवंशीले गरे । खेलको म्यान अफ दि म्याच भने जनज्योति कै गोलरक्षक सत्य श्रेष्ठ चुनिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार) तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले संयुक्त रुपमा गरेका थिए ।
कुल २१ टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,००१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३५००१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । एन्फा एकेडेमी बुटवल र आयोजक गोर्खा ब्वाईज स्पोर्टस क्लबका पुर्व खेलाडी निशान न्यौपानेको स्मृतिमा शुरु प्रतियोगिताको फाइनल खेल यही पुष १४ गतेका दिन हुनेछ ।