News
गोर्खा ब्वाईज, भुपु सैनिक, न्यु होराईजन र लुम्बिनी सिटीलाई सफलता
बुटवल । यहाँ जारी स्व. निशान न्यौपाने स्मृति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा आयोजक गोर्खा ब्वाईज स्पोर्टस क्लब, भूपू सैनिक जवइृ स्र्पोटिङ क्लब, न्यु होराईजन स्पोर्टस क्लब र लुम्बिनी सिटी कलेजले जित हात पारेका छन् ।
दिनको पहिलो खेलमा गोर्खा ब्वाईजले डिफ युथ एफसीलाई ४–१ को अन्तरले हरायो । गोर्खा ब्वाईजको जितमा निराजन खत्रीले दुई गोल गरे भने बिलाज पुनले एक गोल गरे । थप एक गोल भने विपक्षी टोलीका शिवेष थापाले आत्मघाती गोलका रुपमा गरेका थिए । उता डिफका लागि बिपिन बोहराले एक मात्र गोल फर्काएका थिए । खेलमा डिफका बिपिन बोहरा प्लेयर अफ दि म्याच बने ।
दोस्रो खेलमा भूपू सैनिकले सौभाग्य युवा क्लबलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा भूपू सैनिकका गोलरक्षक सोनु थारु प्लेयर अफ दि म्याच घोषित भए ।
तेस्रो खेलमा न्यु होराईजन स्पोर्टस क्लबले अमुवा क्लबलाई ३–१ ले हरायो । न्यु होराईजनको जितमा सन्तोष कार्कीले दुई गोल गर्दा सुन्दिप बिश्वकर्माले थप एक गोल गरे । उता अमुवाका लागि भने विपक्षी टोलीका ओसिङ थापाले आत्मघाती गोल गर्न पुगेका थिए । खेलमा न्यु होराईजनका सन्तोष कार्की प्लेयर अफ दि म्याच चुनिए ।
चौथो तथा अन्तिम खेलमा लुम्बिनी सिटीले जुनियर इन्टर स्पोर्टस क्लबलाई १–० को साँघुरो अन्तरले हरायो । लुम्बिनी सिटीका लागि समुन्द्र ज्ञवालीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता लुम्बिनी सिटीका समुन्द्र ज्ञवाली नै प्लेयर अफ दि म्याच घोषित भए ।
गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,००१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३५००१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही पुष १४ गतेका दिन हुनेछ ।
Post Comments