फर्साटिकर । रुपन्देही र मोफसल कै परिचित मध्ये एक फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकरको आयोजनामा मंगलबारदेखि १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
उद्घाटन खेलमा उत्कृष्ट जितका साथ सिद्धार्थ क्लब, चपरहट्टीले विजयी शुरुवात गर्यो । फर्साटिकर माविको खेलमैदानमा भएको खेलमा सिद्धार्थले फर्साटिकर एकेडेमी, फर्साटिकरलाई ३–० ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
सिद्धार्थको जितमा समुन्द्र ज्ञवाली, दर्शन बिक र सन्तोष कार्कीले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि सिद्धार्थ कै गोलकर्ता समुन्द्र ज्ञवाली घोषित भए । यो जितसँगै सिद्धार्थ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत पुष १६ गते बुधबारको दोस्रो प्रिक्वाटरफाइनल खेल पूर्व विजेता समपुणृ युवा क्लब, सुपौली र चाँदनी युवा क्लब, दानापुरबीच हुने खेल संयोजक रवी खड्काले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन शुद्धोदन गाउँपालिका, रुपन्देहीका अध्यक्ष बिष्णु प्रसाद बस्याल, उपाध्यक्ष शान्तादेवी ज्ञवालीले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष अमृत खड्का, निवर्तमान अध्यक्ष मुकेश कुँवर, क्लबका संरक्षक चक्र बहादुर कुँवर, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतको उपस्थिति रहेको थियो ।
आउँदो पुष २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए ।