News सुदूरपश्चिम प्रहरी र त्रिभुवन युवा क्लब सातौं अरनीको सैनिक कपको क्वाटरफाइनलमा
गोलनेपाल

पुनर्वास । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं २ अरनिको खेलमैदानमा अरनीको युवा क्लबको आयोजनामा जारी सातौं संस्करणको ऐतिहासिक अरनीको सैनिक कप अन्तर्गत बिहीबार दुई प्रि क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।

पहिलो खेल सुदूरपश्चिम प्रहरी र वीरेन्द्र अल्फा बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा उक्त खेलमा उत्कृष्ट कमब्याक गर्दै सुदूरपश्चिम प्रहरी क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ। करण तामाङको गोल अग्रता बनाएको वीरेन्द्र अल्फाले अन्तिम समयमा सम्हालिन नसक्दा प्रहरीसँग पराजित हुन पुगेको छ। खेलको अन्त्यतिर चक्र बलायर र सुरज महतोले उत्कृष्ट कमब्याक गोल गर्दै प्रहरीलाई जित दिलाएका हुन्।

दोस्रो खेल त्रिभुवन युवा क्लब र दशरथ युवा क्लब बीच प्रतिस्पर्धा हुँदा उक्त खेल निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिए पश्चात पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा त्रिभुवन युवा क्लबले ४-१ को नतिजामा जित हात पार्दै क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ। त्रिभुवन युवा क्लबका गोल रक्षक सुमन बिकले लगातार दुई प्रहारलाई रोके पश्चात आफ्नो टोलीलाई दोस्रो चरणमा प्रवेश गराउन सफल भएका हुन्।

शुक्रबार यस प्रतियोगिताका सम्पूर्ण प्री क्वार्टर फाइनल खेलहरू सम्पन्न हुने भएका छन्। जस अन्तर्गत पहिलो खेल भानु युवा क्लब र सिदार्थ युवा क्लब (निलो) दिनको ठिक १२ बजे प्रतिस्पर्धा गर्नेछन् भने अरनीको युवा क्लब (निलो) र पुनर्वास ३ (रातो) दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

प्रतियोगितामा कञ्चनपुर जिल्लाका चिरपरिचित १५ टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६१,००० रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु.१,३०,००० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Post Comments