फर्साटिकर । झरना स्पोर्टस क्लब, कुञ्जलापुर रुपन्देहीमा जारी १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा झरनाले भैरव स्पोर्टस क्लब, नवलपरासीलाई ४–० को अन्तरले हराउँदै फाइनलमा पुगेको हो । झरनाको जितमा सुरज थारुले दुई गोल गर्दा थप दुई गोल बिक्की चाम्लिङ राई र लक्ष्मण थापाको नाममा रह्यो । खेलमा झरनाका लक्ष्मण थापा म्यान अफ दि म्याच चुनिए ।
झरनाले अब पुष २६ गते हुने फाइनलमा कपिलवस्तु–११ सँग उपाधिका लागि भिड्नेछ । कपिलवस्तुले बुधबार मात्रै भएको पहिलो सेमिफाइनलमा लिस्नु युवा क्लब, कोटिहवालाई पेनाल्टी शुटआउटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराई जानकारी दिए ।