बेलबारी । आयोजक पुष्पाञ्जली फुटबल क्लब जारी, बेलबारी जारी तेस्रो पुष्पाञ्जली कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
शुक्रबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा पुष्पाञ्जलीले हिमालयन स्र्पोटिङ क्लब, मिक्लाजुङलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
पुष्पाञ्जली खेलमैदानमा भएको खेलमा आयोजक पुष्पाञ्जलीका लागि दुवै गोल अरुण लिम्बुले गरे । उता पराजित हिमालयनका लागि भने कृषल क्षेत्रीले गोल गरेका थिए । पुष्पाञ्जलीको जितमा नायक बनेका अरुण लिम्बु खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत पुष २६ गते शनिबारको पहिलो सेमिफाइनल खेल बिएम फुटबल एकेडेमी, बेलबारी र इन्ट्रा पथरी–११ फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
पुष्पाञ्जली फुटबल क्लब, बेलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने पुष २९ गतेका दिन हुनेछ ।