बेलबारी । नक्सलबारी फुटबल क्लब मोरङमा जारी छैठौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनलतर्फ नक्सलबारीले डाँगीहाट फुटबल क्लबलाई ३–२ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बन्न सफल भएको हो ।
नक्सलबारीको जितमा कृषल थापाले दुई गोल गर्दा थप एक गोल करन थापाको नाममा रह्यो । उता डाँगीहाटका लागि भने उमेश कार्की र अरुण लिम्बुले गोल गरेका थिए । यद्यपि टोलीको हार भने टार्न सकेनन् । खेलमा नक्सलबारीका कृषल थापा म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुष २७ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल बेलबारी फुटबल क्लब र घंगरु फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।
जनज्योति क्लब, बेलबारी–१, नक्सलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।
