नक्सलबारी । लेटाङ फुटबल क्लब मोरङमा जारी छैठौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
प्रतियोगिता चौथो तथा अन्तिम क्वाटरफाइनलमा लेटाङले इन्ट्रा पथरी–११ फुटबल क्लबलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
लेटाङको जितमा दोस्रो हाफको १७औं मिनटमा रुपेश तामाङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ दि म्याच भने लेटाङ कै अभिषेक लिम्बु चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ २९ गते मंगलबारको पहिलो सेमिफाइनल खेल सतिसाले फुटबल क्लब र बेलबारी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
जनज्योति क्लब, बेलबारी–१, नक्सलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।
