चित्लाङ । चित्लाङ खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा सम्पन्न चित्लाङ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि कुर्दन फुटबल एकेडेमीले जितेको छ ।
फाइनलमा कुर्दन एफएले डाँडाबास फुटबल क्लबलाई १–० को झिनो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । कुर्दनको जितमा आयुष्मान श्रेष्ठले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
विजेता बनेको कुर्दन एफएले उपाधिसहित नगद १ लाख हात पार्दा उपविजेता डाँडाबास एफसीले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलमा निर्णायक गोल गरेका विजेता टोली कुर्दन एफएका आयुष्मान श्रेष्ठ नै म्यान अफ दि म्याच बने ।
अन्य विधागततर्फ कुर्दन कै रोहित थापा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने कुर्दनका सायश श्रेष्ठ र शिखर क्लबका बिबेक थोकरले संयुक्त रुपमा हात पारे । प्रतियोगिताभरि दुवैले समान ५–५ गोल गरेका थिए ।