सुनवल । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३ द्वारा आयोजित दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न चौथो खेलमा राईजिङ स्टार एफसी, नवलपरासीले रोमाञ्चक जित हात पारेको छ।
तिलोत्तमा बोईज, रुपन्देही र राईजिङ स्टार एफसीबीच भएको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफको दोस्रो मिनेटमै तिलोत्तमा बोईजका सबिन केसीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको अन्तिम घडीमा राईजिङ स्टार एफसीका कमल थापाले महत्वपूर्ण गोल गर्दै खेल बराबरीमा ल्याए।
बराबरीपछि खेल टाईब्रेकरमा प्रवेश गरेको थियो। टाईब्रेकरमा राईजिङ स्टार एफसीका गोलरक्षक राज कुमार थापा मगरले दुई गोल उत्कृष्ट रूपमा बचाउँदै टोलीलाई ४–३ को जित दिलाए। यस जितसँगै राईजिङ स्टार एफसी क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। निर्णायक प्रदर्शनका कारण गोलरक्षक राज कुमार थापा मगर खेलको उत्कृष्ट खेलाडी घोषित भए।
भोलि माघ २० गते मंगलबार हुने पाँचौं खेलमा जनशक्ति युवा क्लब, सुनवल–१३ बडेरा र डाइनामिक युथ क्लब, सुनवल–११ जर्गाहाबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।
