News बसाहालाई तेस्रो स्व.कृष्ण प्रसाद भट्टराई गोल्डकपको उपाधि
गोलनेपाल

इटहरी । द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा सम्पन्न भएको तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि बसाहा क्लब, उदयपुरले जितेको छ ।

आइतबार सम्पन्न फाइनलमा बसाहाले लोहोरुङ्ग फुटबल क्लब, संखुवासभालाई १–० को अन्तरले हराउँदै उपाधिमाथि आफ्नो कब्जा जमाउन सफल भएको हो । बसाहाका लागि खेलको ६६औं मिनटमा रितेश तामाङले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

विजेता बनेको बसाहाले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्दा उपविजेता बनेको लोहोरुङ्गले २,०२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । फाइनल खेलको प्लेयर अफ द म्याच पराजित लोहोरुङ्गका मिलन लिम्बु चुनिए । उनले त्यसवापत नगद ५५०० हात पारे ।

त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक बसाहाका सन्दिप भट्टराई बन्दा उत्कृष्ट डिफेन्डर पनि बसाहा कै मन्जिल खड्का चुनिए । उत्कृष्ट मिडफिल्डर लोहोरुङ्गका बिबेक राई बन्दा उत्कृष्ट प्रशिक्षक बसाहाका केशव राई बने । उदियमान खेलाडी आयोजक द योङ ब्रदर्श क्लबका सबिन घिमिरे चुनिए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार भने प्रतियोगिता भरि कुल तीन गोल गरेका बसाहाका रितेश तामाङले हात पारे । उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी प्राप्त गरे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि बसाहाका रितेश तामाङ नै घोषित भए । उनले त्यसवापत नगद २० हजार र ट्रफी हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका, सुनसरीका प्रमुख प्रशासकिय अधिकृत महेश पराजुली लगायतले पुरस्कृत गरेका थिए ।

 

 

Post Comments