बुटवल । सौभाग्य युवा क्लब, बुटवल ७, दीपनगर, रुपन्देहीको आयोजनामा सम्पन्न स्व. शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देवदह ब्वाईज, देवदह, रुपन्देहीले जितेको छ ।
सोमबार बुटवल ७, दीपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको फाइनल खेलमा देवदहले कपिलवस्तु–११, कपिलवस्तुलाई ३–१ को अन्तरले हराउँदै उपाधि आफ्जो कब्जामा पार्न सफल भएको हो । देवदहको जितमा सुरज चौधरीले दुई गोल गर्दा आशिष जिसीले थप एक गोल गरे । उता पराजित कपिलवस्तुका लागि भने श्याम बियादीले एक मात्र गोल फर्काएका थिए ।
विजेता बनेको देवदह ब्वाईजले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्यो भने उपविजेता कपिलवस्तुले २ लाख ५१ हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो । देवदहका आशिष जिसी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।
त्यसबाहेक अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक देवदहका बिशाल केसी बन्दा उत्कृष्ट डिफेन्डर पनि देवदह कै एनिसेट एडिया चुनिए । उत्कृष्ट मिडफिल्डर कपिलवस्तुका गणेश पुलामी मगर चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार देवदहका सुरज चौधरीले हात पारे । त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि देवदहका विजय गुरुङ घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ११–११ हजार र ट्रफी हात पारे ।
त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने देवदह ब्वाईज कै सुरज चौधरी घोषित भए । उनले त्यसवापत नगद २५ हजार र ट्रफी हात पारे ।