News इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
गोलनेपाल

चौथो सुन्दरहरैंचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा इटहरी उपमहानगरपालिकाले बेलका नगरपालिकालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

सुन्दरहरैंचा नगरपालिका–१२ स्थित शुक्रबारे खेल मैदानमा बुधबार सम्पन्न खेलमा निर्धारित 70 मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।

खेलको दोस्रो हाफको पाँचौं मिनेटमा स्याम मुर्मुले उत्कृष्ट फिनिसिङ गर्दै बेलकालाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि दिशान्त रानाले विवेक राईको कर्नरमा हेडमार्फत गोल गर्दै बेलकाको अग्रता २–० मा पुर्याए।

दुई गोलले पछि परेको अवस्थामा इटहरीले शानदार पुनरागमन गर्यो। असिम राईले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक लङ रेन्ज शट सिधै जालीमा पुग्दै इटहरीका लागि पहिलो गोल गरेका थिए। त्यसको केही मिनेटपछि बेलकाका गोलरक्षक र डिफेन्डरबीच तालमेल नमिल्दा गोलरक्षकको हातबाट फुस्किएको बललाई निस्कुमार श्रेष्ठले जाली चुमाउँदै इटहरीलाई २–२ को बराबरीमा पुर्याए।

निर्धारित समयमा थप गोल ननिस्किएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ इटहरी ५–४ ले विजयी बन्यो।

यसअघि क्वाटरफाइनलमा लेटाङ नगरपालिकालाई पनि पेनाल्टी सुटआउटमै ५–४ ले पराजित गर्दै सेमिफाइनल पुगेको इटहरीले पुनः पेनाल्टीमै सफलता हासिल गर्दै फाइनल यात्रा तय गरेको हो। अब उपाधिका लागि इटहरीले केराबारी गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ।

खेलको प्लेयर अफ द म्याच इटहरीका असिम राई घोषित भए। 

Post Comments