News फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अन्ततः अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बित गरेको छ ।

फिफाले २४ जुन २०२६ मा जारी गरेको परिपत्रमार्फत एन्फामाथि तत्काल प्रभावबाट लागू हुने गरी निलम्बन गरिएको जानकारी दिएको हो । फिफा काउन्सिल ब्यूरोको सोही दिन बसेको बैठकको निर्णयअनुसार फिफा विधानको धारा १६ अनुसार यो कदम चालिएको जनाइएको छ ।

यो निलम्बनसँगै एन्फाले फिफाद्वारा प्रदान गरिएको आफ्ना सम्पूर्ण सदस्यता अधिकार गुमाएको छ । फिफाको निर्णयसँगै नेपाली राष्ट्रिय टोली तथा क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट समेत बञ्चित भएका छन् ।

साथै, एन्फा र सम्बन्धित पदाधिकारी तथा सदस्यहरूले फिफा वा एएफसीका विकास कार्यक्रम, तालिम तथा अन्य सहयोगबाट पनि लाभ लिन पाउने अवसर गुमाएका छन् ।

फिफाले आफ्नो सूचनामा एन्फासँग कुनै पनि खेलसम्बन्धी सम्पर्क नगर्न सबै सदस्य राष्ट्रहरूलाई आग्रह समेत गरेको छ ।

यद्यपि, फिफा काउन्सिल ब्यूरोले आगामी फिफा कंग्रेस अघि कुनै पनि समयमा यो निलम्बन फुकुवा गर्न सक्ने पनि जनाएको छ । परिस्थितिमा सुधार आएमा त्यसबारे सम्बन्धित पक्षलाई जानकारी गराइने फिफाले उल्लेख गरेको छ ।

यस निर्णयले नेपाली फुटबलमा ठूलो प्रभाव पार्ने देखिएको छ, विशेषगरी राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागिता र विकास योजनाहरूमा असर पर्ने निश्चित छ । साथै फिफाको यो निलम्बनले नेपाली फुटबलको अवस्था थप दयनीय र पछि धकेलिने अवस्थामा समेत पुगेको छ ।

Post Comments