News इङल्याण्डको जितमा कप्तान केन बने नायक
गोलनेपाल

काठमाडौं (एजेन्सी) । कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केन नायक बन्दा इङल्याण्ड जारी फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

बुधबार राती सम्पन्न प्रतिस्पर्धात्मक खेलमा इङल्याण्डले डिआर कङ्गोको चुनौति २–१ ले समाप्त पार्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । यद्यपि खेलमा शुरुवाती अग्रता भने कङ्गोले लिएको थियो ।

खेल शुरु भएको सातौं मिनट मै ब्रायन सिपेङ्गाको गोलबाट कङ्गोले खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो । पहिलो हाफसम्म त्यही अग्रतालाई अफ्रिकी टोलीले कायम पनि राख्यो ।

तर, दोस्रो हाफमा भने इङल्याण्ड खेलमा फर्कियो । इङलिस कप्तान केनले खेलको ७५ र ८६औं मिनटमा लगातार दुई गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरे ।

इङल्याण्डले प्रिक्वाटरफाइनलमा अब जुलाई ५ तारीखका दिन आयोजक मेक्सिकोसँग खेल्नेछ । मेक्सिकोले अन्तिम ३२ को भिडन्तमा इक्वेडरलाई हराएर प्रिक्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

 

Post Comments