News एन्फा प्रेसिडेन्ट लिग–२०७७: स्टार सिटी लिगको शिर्ष स्थानमा; धादिङको सहज जित
गोलनेपाल
कैलालीको स्टार सिटी युवा क्लब कैलाली र बागमति प्रदेशको धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन ।

शनिबार नेपालगन्ज रंगशालामा स्टार सिटीले घरेलु टोली धम्बोझीलाई ३–१ ले पराजित गरेको छ । यसैगरी अर्को खेलमा धादिङले प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हरायो ।

जितसँगै लगातार तिन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । स्टारले लगातार तिन खेल्दै ९ अंक जोडन सफल भएको छ । दुइ खेल जितेर ६ अंक जोडेको धादिङ लिगको दोस्रो स्थानमा उक्लिएको छ । धम्बोझी र धादिङको समान ६ अंक भएपनि गोलभिन्नताको आधारमा धादिङ दोस्रो स्थानमा पुगेको हो । यसैगरी लिगमा मनकामनाले भने लगातार तीन खेल हार्न पुगेको छ ।

शनिबार स्टार सिटीको जितमा टोप बहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । स्टारका लागि रुप बहादुर लामाले ४१औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट बिसन गुरुङले ६१औं मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा स्टार सिटीका रुप बहादुर लामा म्यान अफ द म्याच घोषित भए । उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले पुरस्कृत गरेका थिए ।

जितपछि कैलालीका प्रशिक्षक ललित चन्दले च्याम्पियन बन्ने हौसला बढदै गएको बताए । उनले भने,‘अहिले नै च्याम्पियन बन्न सहज त छैन । तर हामीले आज लिगको बलियो टोलीलाई हराएको छौं । हाम्रो बेन्च खेलाडी पनि बलियो भएको आज प्रमाणित भएको छ । यसले टिम थप बलियो भएको छ ।’

नयाँ र पुराना खेलाडीको समन्वय मिल्दै गएकोले टोली स्तर थप सुधार हुँदै गएको प्रशिक्षक चन्दले बताए ।

धम्बोझीका प्रशिक्षक रबिन्द्र श्रेष्ठ सुरुआतमा गोलकिपरको गल्तीको कारण खेल बिग्रिएको बताए । उनले भने,‘सुरुआतमै हामीले ‘सिल्ली’ गोलको सामना गर्न प¥यो । त्यसले टिमको रिदम बिग्रियो । हामीले लगातार तिन खेल गर्मीमा खेलेको छौं । त्यसले पनि खेलमा असर गरेको छ ।’

शनिबार भएको दोस्रो खेलमा धादिङको जितमा शिशिर लेखीले २५औं मिनेट, विजय भुजेलले ६८औं र कप्तान रबि भण्डारीले ८७औं मिनेटमा गोल गरेका थिए । खेलमा धादिङका शिशिर लेखी म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले पुरस्कृत गरेका थिए । जितपछि धादिङ समाजका प्रशिक्षक दिपक रानाले जितपछि शिर्ष–४ मा पर्ने सम्भावना कायमै रहेको बताए । उनले भने,‘सुरुआतको खेलमा रेफ्रीको गल्तीका कारण हाम्रो रिजल्टमा असर गरेको थियो । तर अहिले टिमको समन्वय मिल्दै गएको छ । पहिलो रोजाईका खेलाडी नभएपनि नतिजा राम्रो आएको छ । बाँकी खेल जित्न सके हामी राष्ट्रिय लिगका लागि छनोट हुन सक्छौं ।’
 
आगमी तिन खेलमा स्टार सिटी विरुद्धको खेल निकै महत्वपुर्ण हुने प्रशिक्षक रानाले बताए ।

मनकामनाका प्रशिक्षक श्याम सुन्दर सिंहले पाएको अवसरमा गोल गर्न नसक्दा धादिङ विरुद्धको खेल हार्नु परेको प्रतिक्रिया दिए । उनले भने,‘हामीले आफै धेरै गल्ती गरेका छौं । गोल गर्नको लागि उनीहरुलाई अवसर मिलाई दिने काम भएको छ । त्यसले पनि बिपक्षी टिमलाई फाइदा भयो ।’

प्रतियोगिताको लागि तयारी निकै कम हुँदा पनि खेल राम्रो हुन नसकेको उनले प्रतिक्रिया दिए । अबको खेलमा जित्नु बाहेक अन्य कुनै बिकल्प आफुहरुसँग नभएको प्रशिक्षक श्यामले बताए ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।
Post Comments