
पोखरा । सोमबार मात्र मकवानपुरमा सम्पन्न चौथो बागमती गोल्डकपको उपाधि जितेको थ्रीस्टार क्लबले पोखरामा जारी १९औं आहा! रारा गोल्डकपमा भने निरीहपुर्ण हार बेहोरेको छ ।
पोखरा रंगशालामा मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टारले गत संस्करणको उपविजेता नेपाल पुलिस क्लबसँग ४–० को निराशाजनक हार बेहोरेको हो ।
पुलिसको जितमा खेलको २८औं मिनटमा बुद्ध बल तामाङले पहिलो गोल गरेका थिए । थप तीन गोल भने पुलिसले दोस्रो हाफमा गर्यो । ६७औं मिनटमा तेज तामाङले पुलिसको अग्रता दोब्बर बनाउँदा बुद्ध बल तामाङले ७३औं मिनटमा व्यक्तिगत दोस्रो तथा पुलिसका लागि तेस्रो गोल गरे ।
त्यस्तै खेलको अन्तिमतिर ८५औं मिनटमा सौजन याक्खाले पुलिसका लागि चौथो गोल गर्दै विभागीय टोलीको शानदार जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच पुलिसका तेज तामाङ घोषित भए ।
प्रतियोगिता अन्तरगत चैत्र २५ गते मंगलबारको पहिलो सेमिफाइनल खेल संकटा क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने चैत्र २८ गतेका दिन हुनेछ ।