
धरान । आगामी कार्तिक महिनादेखि शुरु हुन गईरहेको उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा धरानले पनि सहभागिता जनाउने भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले राष्ट्रियस्तरको सो प्रतियोगितामा धरानको महिला फुटबल टोलीको पनि सहभागिता रहने पक्का भएको हो ।
त्यसका लागि धरान उपमहानगरपालिका भित्र रहेका महिला खेलाडीहरुलाई आवश्यक फुटबल प्रशिक्षण गराएर धरानको महिला फुटबल टोली तयार पार्ने मेयर राईले बताए ।
टोलीको प्रशिक्षकीय जिम्मेवारी महिला फुटबल प्रशिक्षक भगवती राना मगरले सम्हाल्ने छिन् । प्रशिक्षक रानाले छोटो समयमा राम्रो तयारी नभए पनि राम्रा खेलाडीहरु छानेर टिम तयार पार्ने बताईन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी कार्तिक ४ गतेदेखि शुरु हुन गईरहेको उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागिता लागि इच्छुक नगरपालिकाहरुलाई टिम दर्ता गर्न यसअघि नै सूचना प्रकाशित गरेर आह्वान गरिसकेको छ ।