कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
१५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।
‘कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निक्कै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,’ मेयर कार्कीले भने, ‘खेलकुद कुनै पनि समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि महत्वपूर्ण माध्यम हो । हामीले पनि खेलकुदको माध्यमबाट सुसंस्कृत कागेश्वरी मनोहरा बनाउने अभियान थालेका छौं ।’
मेयर कार्कीले संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नगरभरी नै खेलकुदका पूर्वाधारहरु बनाएर नगरपालिकालाई खेलकुद नगरका रुपमा स्थापित गर्ने बताए ।
‘सरकार, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र विभिन्न राष्ट्रिय खेल संघहरु रंगशाला, कभर्डहल र एकेडेमी बनाउनका लागि ठाउँ भएन भनेर गुनासो गरिरहेका छन् । हामीसँग नगरपालिकाभित्र थुप्रै खाली जग्गाहरु छन्, जहाँ खेलकुदका पूर्वाधार बनाएर कागेश्वरी मनोहरालाई खेलकुद सहरका रुपमा चिनाउन सकिन्छ,’ उनले थपे, ‘कागेश्वरी मनोहरा खेलकुदकै माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिनेछ ।’
संघीय सरकार, प्रदेश सरकार र नीजि क्षेत्रसँगको सहकार्यमा खेलकुदका आधुनिक तथा सुविधासम्पन्न एकेडेमी र रंगशाला तथा कभर्डहलहरु बनाएर त्यसको मुनाफा सबै पक्ष बाढ्ने मोडलमा काम गर्ने बताए ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि