News सहज जितका साथ एपिएफ क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । सहज जित निकाल्दै विभागीय टोली एपिएफ फुटबल क्लब यहाँ जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार हुने भनिएको खेल वर्षाका कारण हुन नसकेपछि सोही खेललाई आइतबार बिहान खेलाइएको थियो । खेलमा एपिएफले फ्रेण्डस क्लबमाथि ३–० को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

पिप्ले क्याम्पा रंगशालामा सम्पन्न खेलको २९औं मिनटमा नविन लामाको पेनाल्टी गोलबाट एपिएफले खेलमा अग्रता बनाएको थियो । खेलको ७७औं मिनटमा सबिन गुरुङले बक्स भित्रबाट पोष्टको दाँया कुना च्याप्दै सटिक रुपमा विभागीय टोलीका लागि दोस्रो गोल गरे ।

त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा रबि थिंगले एपिएफका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । बक्स नजिकैबाट उनले गरेको प्रहार फ्रेण्डसका गोलरक्षकले बचाउ गर्ने क्रममा बलले गोलपोष्टको जाली चुमेको थियो ।

खेलमा एपिएफका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत आइतबार नै ३ बजे दोस्रो खेलमा नेपाल पुलिस क्लब र खुमलटार युथ क्लब भिड्ने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि जेठ ३० गतेका दिन हुनेछ ।

 

Post Comments