
देवदह । त्रिशुली युवा क्लब, चरङे, देवदहको आयोजनामा सोमबारदेखि रुपन्देहीमा प्रथम देवदह वार्ड कप सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
देवदह–१०, चरङे स्थित चिसापानी खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । पहिलो खेलमा वार्ड नम्बर १० (बी) र दोस्रो खेलमा वार्ड नम्बर ८ विजयी भए ।
पहिलो खेलमा वार्ड नम्बर १० (बी) ले वार्ड नम्बर ६ (बी) लाई शून्यका विरुद्ध ३ गोल अन्तरले हरायो । वार्ड नम्बर १० (बी) को जितमा समिर राना एक्लैले तीन गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिककर्ता समेत बने ।
त्यस्तै दोस्रो खेलमा वार्ड नम्बर ८ ले वार्ड नम्बर ३ (बी) लाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । वार्ड नम्बर ८ को जितमा बिशाल थापाले एक मात्र निर्णायक गोल गरे ।
प्रतियोगिता अन्तरगत जेठ ३१ गते मंगलबार पनि दुई खेलहरु हुनेछन् । पहिलो खेलमा वार्ड नम्बर ९ (बी) र वार्ड नम्बर ७ (ए) भिड्ने छन् भने दोस्रो खेलमा वार्ड नम्बर १ र वार्ड नम्बर ५ (ए) भिड्ने म्याच कमिश्नर सुरज घलानले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच आयोजक त्रिशुली युवा क्लबका अध्यक्ष यम बहादुर राना, प्रतियोगिता संयोजक तुल बहादुर आले लगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।
असार ७ गतेसम्म चल्ने प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । देवदह नगरपालिकाको संरक्षकत्व तथा देवदह वार्ड नम्बर १०, चरङेको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक तुल बहादुर आलेले जानकारी दिए ।