
काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ समुह डी मा रहेको भारतले आफ्नो समूहमा शतप्रतिशत जित निकाल्दै समूह विजेताका रुपमा एसियन कपका लागि छनौट भएको छ ।
समूह चरणको अन्तिम खेलमा मंगलबार राती भारतले हङकङमाथि ४–० को प्रभावशाली जित निकाल्यो र शानदार रुपमा छनौट प्रतियोगिताको समापन गर्यो ।
कोलकाता स्थित साल्ट लेक स्टेडियममा सम्पन्न खेलको शुरुवाती मिनट मै अनवर अलीको गोलबाट भारतले अग्रता लिएको थियो । पहिलो हाफ कै अतिरिक्त समयमा कप्तान सुनिल क्षेत्रीले त्यो अग्रता दोब्बर पारे ।
खेलमा एकपक्षीय जित निकालेको भारतका लागि ८५औं मिनटमा मनविर सिंहले तेस्रो गोल गरे भने इन्जुरी समयमा इशान पण्डिताले चौथो गोल थप्दै घरेलु टोलीको सहज जित सुनिश्चित गरे ।
यो नतिजापछि ३ खेलबाट ९ अंक जोडेको भारत शिर्ष स्थानमा रहेर एसियन कपका लागि सोझै छनौट भयो । त्यस्तै पराजयका बावजुद उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीका रुपमा हङकङ पनि एसियन कपका लागि छनौट भयो ।
त्यसैगरी समूह डी मै रहेका अफगानिस्तान र कम्बोडिया भने समूह चरणबाट बाहिरिए । यी दुई टोली पनि मंगलबार नै आमने सामने भएका थिए । सो खेल २–२ को बराबरीमा सकिएको थियो । समान १–१ अंक जोडेका अफगानिस्तान र कम्बोडिया क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।