
बर्दघाट । यहाँ सम्पन्न प्रथम भैरव कप नकआउट फुटबल प्रतियोगिताको उपाधि अल स्टार क्लब, तनहुँले जितेको छ । फाइन्लमा आयोजक भैरव स्र्पोटस क्लब, नवलपरासीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अल स्टार च्याम्पियन बनेको हो ।
बर्दघाट–१४, गोपीगंज स्थित स्थानीय खेलमैदानमा भएको फाइनल भिडन्तमा खेल शुरु भएको दोस्रो मिनट मै अल स्टारका लागि जय गुरुङले पहिलो गोल गरेका थिए । त्यस्तै पहिलो हाफ कै इन्जुरी समयमा अनुज थापाले दोस्रो गोल गर्दै पाहुना टोलीको जित पहिलो हाफ मै सुनिश्चित गरेका थिए ।
विजेता बनेको अल स्टारले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्यो भने उपविजेता भैरवले ६५ हजारमा चित्त बुझायो । त्यस्तै सेमिफाइनलमा पराजित भएका दुई टोली फर्साटिकर युवा क्लब र विपी स्मृति क्लबले जनही १५–१५ हजार हात पारेको आयोजक भैरव स्पोर्टस क्लबका अध्यक्ष अन्जन अधिकारीले बताए ।
सौ प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति अध्यक्ष अधिकारीले धन्यवाद र आभार समेत प्रकट गरे । बुद्धवस्ती पिपल्स क्लब, बर्दघाट–१४, नवलपरासीको संरक्षकत्वमा सम्पन्न प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।