
सिमीकोट ।हुम्ला फुटबल एकेडेमीको आयोजनामा जिल्ला कै सर्वाधिक पुरस्कार राशीको हुम्ला गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता आउँदो बैशाखमा हुने भएको छ ।
पछिल्लो समय हुम्लामा पनि फुटबलतर्फ निकै ध्यान केन्द्रित र यहाँका विद्यार्थीहरु खेलतर्फ रुचि तथा चासो राख्ने भएकाले हुम्ला फुटबल एकेडेमीले प्रतियोगिता आयोजना गर्न थालेको छ । जिल्ला भरिकै क्लवहरुको सहभागितामा आगामी बेशाख १५ गतेदेखि हुम्ला गोल्डकप खेल सञ्चालन गर्ने उदेश्यका साथ पत्रकार सम्मेलन गरिएको हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
उनले हुम्ला जिल्लामा रहेका खेलाडीहरुलाई उत्कृष्ठ खेलाडी बनाउन, खेल क्षेत्रलाई प्रभावकारी बनाउन र जिल्लालाई चिनाउने उदेश्यका साथ आफु खेल क्षेत्रमा लागि परेको बताए ।
पत्रकार सम्मेलनका क्रममा आर्थिक अवस्था मजबुद भएका स्थानीय तह, संघसंस्था र क्लवहरुको सहयोग भने खासै नरहेको दुख व्यक्त गरे । तर पनि हुम्लालाई चिनाउनकै लागि रात दिन नभनिकन यतिखेर खेलाडीहरुलाई फुटबल प्रशिक्षण गराई रहेको सम्मेलनमा जानकारी दिए ।
उक्त हुम्ला गोल्डकपमा जिल्ला बाहिर तथा जिल्ला भित्र भएका पुरूष टिम दर्ता गर्न मिल्ने भएको अध्यक्ष रावतको भनाई छ । त्यसै गरि टिम दर्ता भने आगामी फागुन दोस्रो हप्ताबाट सुरु गरिने भएको छ ।
फुटबल खेल सन्चालनमा एकेडेमीले प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख र तेस्रोलाई ७५ हजार रुपैयाँ पुरुष्कार रासी छुट्याउनुका साथै हुम्ला गोल्डकपको ट्रफि समेत प्रदान गरिने भएको छ । प्रत्येक खेलमा उतकृष्ठ खेलाडीलाई एक हजार रुपैयाँ समेत प्रदान गरिने भएको छ ।