News बागमती गोल्डकपको तयारी पूरा, विजेतालाई ६ लाख
गोलनेपाल

हेटौडा । मकवानपुरको बागमती गाउँपालिकामा यही फागुन ३ गतेबाट आयोजना हुन लागेको तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले हेटौंडामा पत्रकार सम्मेलन गर्दै गोल्डकपको तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगितामा यसपटक साविक विजेता सरस्वती युथ क्लवसहित हिमालयन शेर्पा क्लव, संकटा क्लव, जावलाखेल यूथ क्लव, च्यासल युथ क्लव, आयोजक टिम, डाँफे युवा क्लव मकवानपुर, वीरगञ्ज युनाइटेड, बागमती युवा क्लव सर्लाही र नव जनजागृती युवा क्लव सिमराको सहभागिता रहने पक्का भएको आयोजक बागमती खेलकुद विकास समितिका अध्यक्ष अरुण बलले बताए ।

त्यस्तै प्रतियोगिताको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उद्घाटन गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिताको मुख्य प्रायोजक बागमती गाउँपालिका रहेको छ । गाउँपालिकाले प्रतियोगिताको लागि ३० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

बागमती गोल्डकपको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख र ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार र हरेक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष बलले जानकारी दिए ।

फापरबारी स्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगिताको फाइनल खेल भने फागुन १३ गतेका दिन हुनेछ ।

Post Comments